भूपेन्द्र शाह ठकुरी
काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघको हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमागबाट स्वास्थ्य कर्मचारीहरुका विभिन्न माग सहितका प्रस्तावहरु पारित गरेको छ । नेपाल स्वास्थ्य प्राविधिक सघंका केन्द्रीय अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न २६ बुँदे प्रस्ताव पारित गरेको हो ।
कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरु मध्ये प्रदेश र स्थानीय तहमा समायोजन हुनु भएका केही स्वास्थ्यकर्मीहरुको समायोजन हालसम्म पनि मिलान हुन नसकेकोले दरबन्दी र तलब भत्ताको समेत सुनिश्चिितता हुन नसेकेको निश्कर्ष सहित संघले समायोजन कार्य अबिलम्ब सम्पन्न गर्न सम्बन्धित मन्त्रालयसंग जोडदार माग समेत गरेको छ । हाल स्थानीय तह र प्रदेशमा समायोजन भएका स्वास्थ्यकर्मीहरु प्रदेश र संघमा सरुवा भइ आउन रोक लगाईएकोले सो ब्यबस्था नेपालको संबिधानको धारा १८ मा भएको समानताको हक बिरुद्ध भएकोले खारेज गर्न माग गरिएको स्वास्थ्य प्राविधि संघका केन्द्रीय उपाध्यक्ष रण बहादुर घर्ती मगरले नेपाल एफ नेटवर्कलाई जानकारी दिनु भयो ।
स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको बृत्ति बिकास, सेवा सुविधा सम्बन्धी ब्यबस्था, स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि लगायतका प्रस्तावहरु पारित गरेको छ । श्रेष्ठको नेतृत्वमा बनेको स्वास्थ्य प्राविधिक संघले बुधबार स्वास्थ्य मन्त्री विरोध खतिवडा समक्ष विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको थियो ।
दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्ताबहरु जस्ताकाे त्यस्तै
१ कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरु मध्ये प्रदेश र स्थानीय तहमा समायोजन हुनु भएका केही स्वास्थ्यकर्मीहरुको समायोजन हालसम्म पनि मिलान हुन नसकेकोले दरबन्दी र तलब भत्ताको समेत सुनिश्चिितता हुन सकेको छैन । अतः समायोजन कार्य अबिलम्ब सम्पन्न गर्न सम्बन्धित मन्त्रालयसंग जोडदार मांग गर्दछ । साथै स्थानीय तह र प्रदेशमा समायोजन भएका स्वास्थ्यकर्मीहरु क्रमशः प्रदेश र संघमा सरुवा भै आउन रोक लगाईएकोले सो ब्यबस्था नेपालको संबिधानको धारा १८ मा भएको समानताको हक बिरुद्ध भएकोले खारेज गर्न माग गर्दछ र सबै तहमा तहगत प्रणाली लागु गर्न जोडदार माग गर्दछ ।
२ हालसम्म संघीय निजामती सेवा ऐन तयार हुने अबस्था भएकोले स्वास्थ्य सेवा ऐनमा नसमेटिएका सेवा सुविधाहरु उक्त ऐनमा समेटी स्वास्थ्यकर्मीहरुको सेवा, सुविधाको ब्यबस्था गर्न जोडदार मांग गर्दछ ।
३ स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको बृत्ति बिकास, सेवा सुविधा सम्बन्धी ब्यबस्था संघीय, प्रादेशिक र स्थानीय तहको स्वास्थ्य सेवा ऐन तर्जुमा गर्दा साबिकको स्वास्थ्य सेवा ऐन, २०५३ मा भएको ब्यबस्था सरह हुने गरी गर्न मांग गर्दछ ।
४ स्तरबृद्धिको मापदण्ड पुरा गरी निबेदन पेश गरेका स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि तत्काल मापदण्ड पुगेको मितिदेखि स्तरबृद्धि लागु हुने ब्यबस्था गर्न माग गर्दछ । कुनै एक तहमा दुर्गम क्षेत्रमा काम गरी सकेको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि हुने ब्यबस्था गर्न माग गर्दछ ।
५ कोभिड–१९ महामारीको समयमा दिनरात नभनी कर्तब्य पालना गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता तत्काल उपलब्ध गराउंने ब्यबस्था गर्न माग गर्दछ । साथै स्वास्थ्य क्षेत्रमा सेवारत स्वास्थ्यकर्मीहरुले विभिन्न प्रकारका जोखिमपुर्ण कार्य गर्नु पर्ने भएकोले सबै स्वास्थ्यकमीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन माग गर्दछ । कोभिड–१९ को प्रतिकार्यमा संलग्न भई ज्यान गुमाउनु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई कोभिड– शहिद घोषणा गर्न र उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दछ ।
६ कोभिड–१९ संक्रमित सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बिमा बापतको रकम तत्काल भुक्तानी हुने ब्यबस्था गर्न माग गर्दछ ।
७ स्वास्थ्य सेवाका सम्पुर्ण समुहमा सेवारत स्वास्थ्य कर्मीहरुको वृति बिकासको लागी समान ऐन र नियमावलीको व्यवस्था गरी समान अवसर प्रदान गर्न माग गर्दछ ।
८ विभिन्न समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न ट्रेड युनियन बिच भएको सम्झौता र सहमतिहरु अक्षरंस पालना गर्न माग गर्दछ ।
९ हाल विद्यमान संगठन संरचना र दरबन्दी तेरिजलाई वैज्ञानिक र यथार्थपरक बनाउन संगठन तथा ब्यबस्थान सर्वे गरी समस्या समाधानको लागि पहल गर्न जोडदार माग गर्दछ । संघ, प्रदेश र स्थानीय तहमा तह अनुसारको पद श्रृजना गरी पदस्थापना गर्न माग गर्दछ ।
१० स्वास्थ्य किताबखानाको ब्यबस्था गरी नेपाल स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य किताबखानामा दर्ता हुने ब्यबस्था गर्न माग गर्दछ । विषेश पदस्थापना भएका सबै समुह र तहका स्वास्थ्यकर्मीहरुलाई पद दर्ता प्रकृयामा लगि राष्ट्रिय किताब खानामा दर्ता गर्ने व्यवस्था मिलाउन माग गर्दछ ।
११ स्वास्थ्यकर्मीको नियुक्ती, पदस्थापन र बढुवा पारदर्शि र निष्पक्ष बनाउन र सरुवा प्रक्रियालाई चक्रिय प्रणालीमा आधारीत बनाउन माग गर्दछ ।
१२ स्तर वृद्धि भएका स्वास्थ्यकर्मीहरुको लागि स्तर बृद्धि तालिमको व्यवस्था गर्न माग गर्दछ ।
१३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालय विच समन्वय गरी हाल कार्यरत तह भन्दा कम्तीमा एक तह माथिको ऐकेडेमीक कोर्ष अध्ययनको लागी तलबी अध्ययन बिदा पाउने व्यबस्था गर्न माग गर्दछ ।
१४ नेपाल स्वास्थ्य सेवामा सेवारत र सेवा निबृत सवै स्वास्थ्यकर्मीहरुको लागि सम्पुर्ण स्वास्थ्य उपचार खर्च निःशुल्क गर्न माग गर्दछ । साथै स्वास्थ्यकर्मीहरु प्रति आश्रित परिवारलाई औषधी उपचार खर्च उपलब्ध गराउन माग गर्दछ ।
१५ सेना र प्रहरी सेवामा जस्तै स्वास्थ्य सेवामा पनि सम्पुर्ण माथिल्लो तह देखि तल्लो तहसम्म चिकित्सक, स्वास्थ्यकर्मी, नर्स लगायत स्वास्थ्य प्रविधिकहरु मात्रै रहने ब्यवस्था गर्न माग गर्दछ ।
१६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्राप्त हुने वैदेशिक अध्ययन, भ्रमण, अवलोकन भ्रमण, सेमिनार, गोष्ठी लगायतका अवसरहरु न्युन रहेकोले बिकास साझेदार संस्थाहरु, सहयोगी संस्थाहरु र दातृ निकायहरुसंग समन्वय गरी वैदेशिक अध्ययन, भ्रमण, अवलोकन भ्रमण, सेमिनार र गोष्ठीको कोटा वृद्धि गर्न र सो अवसरहरु न्यायोचित ढंगबाट वितरण गर्न माग गर्दछ ।
१७ स्वास्थ्य सेवा ऐन, २०५३ मा ब्यवस्था भए अनुसार निजि खर्चमा अध्ययन बिदा लिई अध्ययनमा जाने स्वास्थ्यकर्मीहरुको सेवा अवधि गणना हुने ब्यबस्था गर्न माग गर्दछ ।
१८ हुलाक सेवामा भएको १८० दिन भन्दा बढि भएको घर विदा चालु आर्थिक बर्षको अन्त्यमा एक महिनाको थप रकम भुक्तानी हुने ब्यबस्था तीनै तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि लागु गर्न माग गर्दछ ।
१९ फिल्डमा काम गर्ने स्वास्थ्यकर्मीलाई फिल्डमा खटिएर काम गरे बापत मासिकरुपमा यातायात खर्च र खाजा खर्च उपलब्ध गराउने ब्यबस्था गर्न माग गर्दछ ।
२० निजि अस्पताल, नर्सिङ्ग होम, निजि स्वास्थ्य किल्नीकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको श्रम शोषण भै रहेकोले उनीहरुको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन माग गर्दछ ।
२१ स्वास्थ्य प्राबिधिक शिक्षाको गुणस्तरियता कायम राख्नको लागी सम्बन्धित परिषदलाई सम्बन्धित क्याम्पसको स्विकृति तथा रद्ध गर्ने अधिकार प्रदान गर्ने ब्यबस्था मिलाउन माग गर्दछ ।
२२ सुत्केरी स्वास्थ्यकर्मीलाई बच्चाको स्तनपान र उचित स्याहार तथा पालन पोषणको लागि कम्तीमा ६ महिना सुत्केरी विदा पाउने ब्यबस्था गर्न मांग गर्दछ ।
२३ स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धी नीति निर्माण कार्यमा संघको अनिबार्य सहभागिताको लागि जोडदार माग गर्दछ । नीति निर्माण कार्यमा नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु सहभागिताको लागि समेत जोडदार माग गर्दछ ।
२४ स्वास्थ्य सेवाका सबै उपसमुहहरुको स्तरबद्धि हुदा तह अनुसारको पदनाम र अधिकार सहित पदस्थापना हुने ब्यबस्थाको लागि जोडदार माग गर्दछ ।
२५ बि.सं २०५७ साल पछि नियुक्ती भएका स्वास्थ्यकर्मीहरुलाई साबिक बमोजिम प्राबिधिक दुई ग्रेड उपलब्ध गराउने ब्यबस्था गर्न माग गर्दछ ।
२६ बिभिन्न परिषद्मा दर्ता भएका स्वास्थ्य ब्याबसायीहरुलाई सम्बन्धित परिषदको कोड अफ ईथिक्स अनुसार क्लिनिक सञ्चालन गर्न पाउने सम्झौता अबिलम्ब कार्यान्वयन गर्न माग गर्दछ ।