‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

मुख्य खबर बिहिबार चैत्र १०, २०७८

काठमाडौं । स्थानीय निर्वाचनलाई लक्षित गरेर सरकारले एकिकृत सुरक्षा नीति पारित गरेको छ । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नका लागि ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेल सहितको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्‍याउँछ ।’

 

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए । ‘बैठकमा आगामी सुरक्षा चुनौती र ती चुनौतीको सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे सदस्यहरूले धारणा राख्नुभयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो ।

बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निदेर्शेन दिनु भएको थियो ।

Leave a Comment