काठमाडौं । नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा आर्थिक वर्ष २०७४/७५ सम्म १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको सरकारको तथ्यांक छ ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा यो संख्या वार्षिक रुपमा ६९ हजारका दरले थपिने गरेको देखाएको छ । चालु आर्थिक वर्षसम्म २८ हजार ६७७ जना बिरामीहरु मात्रै उपचारको क्रममा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । नेपालमा ४१ हजार ५०० क्षयरोगीहरु उपचारको पहुँच बाहिर रहेको केन्द्रको तथ्यांक छ ।
सामाजिक लाञ्छना र भेदभावको डरका कारण ४० हजार बढी क्षयरोगीहरु लुकेर रहने गरेको केन्द्रको तथ्यांक छ । क्षयरोग नियन्त्रणका लागि सरकारले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
नेपालमा बर्सेनि झण्डै ४५ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसका कारण सन् २०५० सम्म नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यलाई चुनौती दिएको छ । नेपालमा गत आर्थिक वर्षमा मात्रै २८ हजार ६ सय ७७ जना क्षयरोगका नयाँ बिरामी भेटिएका थिए । तर उपचारको पहुँचमा पुग्ने बिरामी, अनुमान गरिएको भन्दा कम रहेको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक उपसचिव मुक्ति खनालले बताउनुभयो । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट क्षयरोगका बिरामी प्रतिलाख २० जनाभन्दा कममा झार्ने उद्देश्य लिएको छ । सन् २०३५ सम्ममा विश्वबाट क्षयरोगको अन्त्य गर्ने लक्ष्य छ ।
क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुने चिकितिस्कहरुको भनाइ छ । सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ ।
तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण चिकितिसकहरुले सुझाव दिएका छन् ।