‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ भन्ने नारा सहित पानी दिवस मनाइदैं

मुख्य खबर मङ्लबार चैत्र ८, २०७८

काठमाडौं । विश्व पानी दिवस, नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन यो दिवस मनाइन्छ ।

दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ । यो नाराका साथ आज बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम भइरहेकोे छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नलाग्ने चिकित्सकहरु बताउँछन् ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ। यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ। यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको बताउनु भएको छ । विश्व पानी दिवसका अवसरमासुभकामना दिदै देउवाले उहाँले यसका लागि जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Comment