भुसालले राखे बाम एकताको प्रस्ताव,एकताको तमासातर्फ लाग्न नहुने ओलीको जवाफ

मुख्य खबर सोमवार चैत्र ७, २०७८

काठमाडौं । नेकपा एमालेको प्रथम पोलिटब्यूरो बैठकमा नेता घनश्याम भूसालले बाम एकताको प्रस्ताव अघि सारेका छन् । सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने विषय राखेको स्रोतले जनाएको छ।

‘वामपन्थी एकताको विषय उहाँहरूले राख्नुभएको थियो। वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो,’ बैठकमा सहभागी एक नेताले भने।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका थिए।

यसअघि पनि भुसालले लेखमार्फत् वामपन्थी एकताका कुरा अगाडि सारेका थिए। तर अध्यक्ष ओलीले कम्युनिष्ट एकताको तमासातर्फ लाग्न नहुने जवाफ दिएका थिए।

स्थानीय प्रतिनिधिहरुका उम्मेद्वारका लागि यस्तो बन्यो मापदण्ड
एमालेले जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन गर्दै जन प्रतिनिधिहरुको टुंगो लगाउने भएको छ ।

त्यसैगरि कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्‍याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ ।

एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने नेकपा एमालेले जनाएको छ ।

Leave a Comment