काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा कायम रहेको न्यूनतम थ्रेसहोल्ड (सीमा) पुनरावलोकन गर्ने भएको छ । नेपालमा लगानी ल्याउन चाहने विदेशी लगानीकर्ताले अहिले कम्तीमा ५ करोड लगानी ल्याउनैपर्ने सीमालाई घटाई केही क्षेत्रमा लचिलो बनाउन लागिएको हो ।
बाह्य लगानीमा न्यूनतम सीमा पुनरावलोकन गर्ने सम्बन्धमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा एक समिति गठन भएको छ । समितिमा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, प्रधानमन्त्री कार्यालय, लगानी बोर्ड लगायत निकायका ७ जना प्रतिनिधि रहनेछन् ।
कार्यदलले दुई साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेको महानिर्देशक तिवारीले जानकारी दिनुभयो । महानिर्देशक तिवारीले लगानीको थ्रेसहोल्डमा केही पुनरावलोकन आवश्यक देखिएको उल्लेख गर्दै त्यसमा क्षेत्रगत रुपमा केही लचिलो बन्न सकिने संकेत गरेका छन् ।