राजनीतिक शीर्ष नेताहरु गाउँ केन्द्रीत

मुख्य खबर आइतवार चैत्र ६, २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित सक्रियता बढेको छ । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् । शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदै छन् ।

निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो । प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उम्मेवाद छनोटका लागि सोही तहको कमिटीबाट तीन जनाको सिफारिस हुनेछ । वडा र सदस्यको उम्मेवादर जिल्ला कमिटीले टुंगो लगाउनेछ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । हिजो सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ । एकीकृत समाजवादीले ‘जनतामा जाऔं, एकीकृत समाजवादी जिताऔं’ भन्ने नारासहित चुनावी अभियानमा होमिएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधारा, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झा पार्टीले परिचालन गरेको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ । तर, लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)को बैठक अझै बस्न सक्ने अवस्था छैन । निर्वाचन केन्द्रित कार्यक्रममा जसपा जोडतोडका साथ लागिसकेको भए पनि लोसपा अहिले केही कार्यक्रम सार्वजनिक गरेको छैन । जसपाले गत साता कार्यकारिणी समिति, संघीय परिषद्, केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै चुनावी रणनीति तय गरेर गाउँ केन्द्रित कार्यक्रममा छ ।

 

Leave a Comment