एमालेसँग गठबन्धनको सम्भावना छैन तर त्यो कुरा कांग्रेसको व्यवहारमा पर्छ-प्रचण्ड

मुख्य खबर बिहिबार चैत्र ३, २०७८

काठमाडौं । कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन गठबन्धन हुन सक्ने बताए। सत्तारूढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी गठबन्धन हुने सम्भावना जिवितै रहेको बताएका छन्।

बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तत्काल एमालेसँग गठबन्धन गर्ने सम्भावना नरहेको भए पनि आफूले त्यो हुँदै हुँदैन भन्न नसक्ने बताएका छन्।

‘मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरूको खेल हो भनेर। त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,’ प्रचण्डले भने,‘एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भर पर्छ। अहिले केही कांग्रेसी नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ।’

नेताहरूले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारूढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उनले बताए।

‘हामी सबै दल आ-आफ्नै एजेन्डा लिएर चुनावमा जाने कुरा प्राथमिक हो। गठबन्धनका दलहरूबीच तालमेल गर्ने कुरा सेकेन्डरी हो। सबै ठाउँमा हुँदैन, कुनै कुनै ठाउँमा हुन पनि सक्छ,’ प्रचण्डले भने।

 

Leave a Comment