स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

मुख्य खबर बिहिबार चैत्र ३, २०७८

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दललाई चुनाव चिह्न दिन न्यायोचित र वैधानिक ठानेर आयोगले चुनाव चिह्न प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् । आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई चुनाव चिह्न दिने निर्णय भने गरिसकेको छैन ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलले आचारसंहिता कानुन मन्त्रालयबाट सम्पादन भएर आएपछि राजपत्रमा प्रकाशनका लागि बुधबार साँझ पठाएको बताए ।

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगले जनाएको छ । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि सुविधा लिइरहेका हुन्छन् । उनीहरूले निर्वाचनमा भाग लिनुअघि राजीनामा नदिए उम्मेदवार बन्न रोक लगाउने प्रावधान आचारसंहितामा छ ।

Leave a Comment