काठमाडौं । आज फागु पूर्णिमा अर्थात होली पर्व, काठमाडौं उपत्यका सहित देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लासका साथ मनाईदैछ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।
आज हिमाली र पहाडी जिल्लामा मनाइने फगु पर्व भोली तराई मनाइन्छ । होली पर्व एक आपसमा रङ लगाएर मनाउने गरिन्छ । विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।
काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ । यसैगरी, हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिएको छ । यो चीर आज राती मध्यरातमा ढालेपछि पर्व समापन हुन्छ ।
राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना दिनुभएको छ । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभयो ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ । होली पर्वको रूपमा मनाइने फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै उहाँले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ । उपराष्ट्रपति पुनले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउनसमेत आग्रह गर्नुभएको छ । होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना गर्दै विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभयो ।
………..फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।
त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ। प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन्। यसैबीच, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रेस विज्ञप्ति जारी गरी सुरक्षा सावधानी अपनाएर शान्तिपूर्वक होली खोल्न आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ । प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ ।