काठमाडौं । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लामा पर्सि होली पर्व मनाईदै छ । फागु अर्थात होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले तयारी थालिएको छ । काठमाण्डौ उपत्यकालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइएको छ ।
होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिने प्रहरीले जनाएको छ । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको जानकारी दिनुभयो ।
जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।
यस्तै सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित जाँच गर्ने छन् । हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ ।