काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो ।
चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । म्यादीको कार्यावधि ४० दिन तोकिएको छ । उपत्यकास्थित महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर परिसरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने मापदण्ड बनाइएको छ ।
चैत १५ देखि छनोट प्रक्रिया अघि बढाएर २२ गते अन्तिम नतिजा प्रकाशित गरिने तालिका छ । छनोट भएकाहरुलाई चैत २८ बाट प्रशिक्षण दिइनेछ ।