एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गतेका लागि तय

मुख्य खबर बुधबार चैत्र २, २०७८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ । हिजो पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ। बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ ।

एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ। विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने छन् ।

Leave a Comment