अरु बेला गाउँ नपस्ने नेताहरु चुनाव जित्न आश्वासन बाँड्दै गाउँघरमा

मुख्य खबर बुधबार चैत्र २, २०७८

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरू चुनावी एजेण्डा लिएर गाउँ पस्न थालेका छन् । चुनाव आउन ५८ दिनमात्र बाँकी भएकाले दलहरूले गाउँ लक्षित कार्यक्रम सुरु गरेका हुन् । विभिन्न अभियान चलाएर मतदाता रिझाउन सुरु गरिसकेका उनीहरु गाउँ पस्न थालेपछि देशभर चुनावी माहोल बन्दै गएको छ ।

यही क्रममा नेपाली काँंग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ । आइतबारदेखि सुरु भएको एक महिने चुनावी अभियानका क्रममा काँग्रेसले बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने तयारी गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको कार्ययोजनालाई केही दिनभित्रै अन्तिम रूप दिने तयारी गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि चुनाव लक्षित कार्यक्रम गरिरहेको छ । अरु साना दलले पनि स्थानीय तहको चुनावको लागि एजेण्डा बनाउदै गाउँ पस्न थालेका छन् । सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

Leave a Comment