काठमाडौं । संघीय संसदको दुवै सदनका चालु हिउँदे अधिवेशन अन्त्य भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको हिउँदे अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गर्नुभएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले निकालेको सूचनामा आजका लागि तोकिएको प्रतिनिधि सभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठक समेत अन्त्य भएको उल्लेख छ । मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको दशौँ अधिवेशन अवधिभर प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रायः अवरुद्ध रह्यो । संसदको विधेयक अधिवेशन एउटै विधेयक पारित नभई सकिएको हो ।
प्रतिनिधि सभामा अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका ४२ विधेयक प्राप्त भएका थिए । अधिवेशन अन्त्यसँगै नागरिकता लगायतका महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । यस्तै राष्ट्रिय सभामा पनि १५ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । दशौँ अधिवेशनबाट ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लगायतका केही अध्यादेश स्वीकृत भए । चालु अधिवेशन अन्त्यसँगै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको महाअभियोग माथिको छलफल पनि अनिस्चित बनेको छ ।