काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले ७० प्रतिशत सिट जित्ने दाबी गर्नु भएको छ । अखिल नेपाल महिला सङ्घको बैठकलाई मङ्गलवार काठमाडौंमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नाम मात्रका कम्युनिष्टहरुसँग मिल्न आवश्यक नरहेको बताउनु भएको हो ।
‘यी नामका कम्युनिष्ट हुन कामका होइनन्, हामी कसैसँग मिल्न आवश्यक छैन, स्थानीय निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत एक्लै जित्छौ’, उहाँले दाबी गर्नुभयो । उहाँले आफूहरू जनादेश लिन जनताकोमा जान लागेकोले अरू पाँच दल वा सात दल मिलेर लडे पनि फरक नपर्ने बताउनुभयो।
नेकपा एमाले प्रतिपक्षमा हुँदा पनि पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै ओलीले कम्युनिष्टको नाम मात्रको खोल ओढेकाहरू एकता आवश्यक भनेर कार्यकर्तालाई निराश बनाउन लागि परेको बताउनुभयो । ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजीवी त्यसमा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निराश बनाइदिन्छन् । हिजो मात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहीँ पनि नजित्ने भएर । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजीवीलाई त्यस्तो लागेछ,’ओलीको भनाई थियो ।