रुस र युक्रेन युद्धकाबीच सुरु भएको चौथो चरणको वार्ता हुँदै

अन्तर्राष्ट्रिय मङ्लबार चैत्र १, २०७८

एजेन्सी । रुस र युक्रेन युद्धकाबीच सुरु भएको चौथो चरणको वार्ता आज पनि हुने भएको छ । दुई देशबीच जारी युद्धको अन्त्यका लागि पटक–पटक वार्ता हुँदै आएको छ । सोमबारको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेका कारण आज पुनः वार्ता हुन लागेको हो ।

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले यही मार्च २४ देखि थप ३० दिनका लागि देशमा सैन्य कानून लम्ब्याउन माग गर्नुभएको छ । यता युद्ध अन्त्यका लागि वार्ता चलिरहेकै बेला रूसले युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेको छ ।

युक्रेनका उपप्रधानमन्त्री इनि भेरेस्चुकले जारी युद्धकाबीच सोमबार मात्रै ४ हजार मानिसलाई उद्धार गरिएको भन्दै रुसी सेनाले किएभ शहरमा अन्धाधुन्ध आक्रमण गरेको बताउनुभएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले युक्रेनमा मानविय सहायताका लागि ४ करोड डलर दिने घोषणा समेत गरेको छ । उता, अमेरिकाले रुसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ ।

Leave a Comment