काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।
लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।
अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको हो । कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो।