काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ नामक बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको बताउनु भएको छ ।
प्रकाश सपुतले ल्याएको उक्त गितका विषयमा माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन चेतावनी दिएको बेलामा अध्यक्ष प्रचण्डले उक्त प्रतिक्रिया दिनु भएको हो ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भईरहने बताउनुभयो । पक्ष–विपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ उहाँले भन्नुभयो ।
माओवादी जनयुद्ध शान्तिपूर्ण तरिकाले रुपान्तरण हुन ठिक थियो कि गलत भन्ने बहसलाई स्वभाविक रुपमा लिनुपर्ने उहाँको बुझाई छ । आफू कतार, मलेसियालगायतका खाडी मुलुक जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानी गरेको समेत अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो ।