काठमाडौं । साउदी अरब विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदै हुनुहन्छ । फैसल आज र भोली गरि दुई दिने नेपालको औपचारिक भ्रमण गर्नेमा आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा विदेशमन्त्री फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उहाले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यसैगरि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको हो ।
भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का हुनुहुन्छ । भिजिट भिसामा लैजाने व्यक्ति÷संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।