काठमाडौं। स्थानीय तहको चुनाव आउन अब करिब २ महिना मात्र बाकी छ । दुई महिना बाँकी रहँदा दलहरु भने चुनाव केन्द्रित कार्यक्रमका लागी जुटिरहेका छन । नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ भने एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ ।
कांग्रेसको एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा भएको कार्यक्रममा सहभागी भइरहनुभएको छ । केही दिनभित्रै औपचारिक रुपमा चुनाव केन्द्रित अभियान सुरु हुने एमालेले जनाएको छ । नेकपा माओवादी केन्द्रले पनि गाउँठाउँमा चुनाव केन्द्रित अभियान थालिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भइरहेका छन् ।
नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले पनि ठाउँठाउँमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि ८० दलले मात्रै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । आयोगले ७९ दललाई मात्र स्थानीय तह चुनावका लागि मान्यता दिएको हो ।