सरकारले भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

मुख्य खबर आइतवार फाल्गुन २९, २०७८

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारलाई चैत सात गते भित्र भाडा समायोजन गरिसक्न अल्टिमेटम समेत दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे। उनले ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैंले समायोजन गर्ने चेतावनी पनि दिनुभयो।

व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव ०३, ट्रक (पहाड)को ११ दशमलव ८२ र ट्रक (तराई) को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ।

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो।

व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए।

गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो । रासस ।

Leave a Comment