काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरिरहँदा एमाले सांसद भीम रावलद्वारा सरकारको जवाफ माग गरेका छन् । सांसद रावलले दार्चुलामा भारतीय पक्षले तटबन्ध बनाइरहँदा समेत सरकार मौन बसेकोमा आपत्ती जनाउनु भयो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतीय पक्षले एकपक्षीय तटबन्ध बनाउँदा पनि नेपाल सरकार नबोलेको बताए । उनले भारत सरकारले एकतर्फी डोजर चलाएर महाकाली चेप्ने र दार्चुला जिल्लालाई खतरामा पार्ने काम भइरहेको भन्दै गृहमन्त्री र प्रधामन्त्रीले संसद्मा उभिएर यसमा जवाफ दिनुपर्ने माग गर्नुभयाे ।
“दार्चुला जिल्लामा भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुनविपरीत तटबन्ध बनाउने काम भइरहेको छ । यस्ता काम बन्द हुनुपर्छ भनेर आवाज उठाउँदा सरकार मौन छ,” उहाँले भन्नुभयाे, “देश घात हुँदा पनि केही नबोल्ने अलोकतान्त्रिक सरकार ठहरिन्छ । प्रधानमन्त्री र गृहमन्त्री यहाँ आएर जवाफ दिनुपर्छ ।”