प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्तावबारे छलफल हुने

मुख्य खबर आइतवार फाल्गुन २९, २०७८

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ ।

आफैं कार्यविधि बनाएर र प्रतिनिधि सभाको नियमावली अनुसार राणाविरुद्धको महाभियोगमाथि समितिले काम सुरु गरेको तीन महिनाभित्र छानबिन प्रतिवेदन दिनुपर्ने छ । उक्त समितिको प्रतिवेदन पुनः प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ । छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने अंकगणितमा प्रवेश गर्ने छ । प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा उनी पदमुक्त हुनेछन्। प्रस्ताव पारित हुन सकेन भने उनी फेरि सर्वोच्च फर्कने छन् । त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनेछन् ।

Leave a Comment