निर्वाचन चिन्ह प्रयोग गर्न नपाएको भन्दै साना दलहरुले गरे आयोगकाे विरोध

मुख्य खबर शुक्रबार फाल्गुन २७, २०७८

काठमाडौं । निर्वाचन आयोगले साना र ठूला दलहरुबीच विभेद गरेको भन्दै आयोग प्रति आपत्ती जनाएका छन् । आफ्नो दलको चिन्ह मतपत्रमा नराखेको भन्दै उनीहरुले विरोध जनाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा दलहरूले आपत्ति जनाएका हुन् ।

छलफलका क्रममा राप्रपाका महासचिव भूवन पाठकले ठूला दल र साना दलबीच विभेद भएकाले विरोध जनाएको बताउनु भयो । हाम्रो आफ्नै चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्छ । मंगलबारसम्म पनि यो माग सुनुवाइ भएन भने संयुक्त आन्दोलनमा जान्छौं, आयोगका पदाधिकारीसँगको छलफलका क्रममा उहाँले भन्नुभयो ।

आयोगले आचारसंहिताको केही मापदण्ड परिवर्तन गर्नुपर्ने र निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरूले आयोगको ध्यानाकर्षण गराएको छ ।आयोगले छुट्टै साइबर क्राइम ब्युरो बनाएर आचारसंहिता उल्लंघन गर्नेलाई पनि अनुगमन गरी कारबाही गर्ने बताएको छ ।

त्यस्तै छलफलका क्रममा दलहरूले उम्मेदवारको खर्च सीमा बढाउनुपर्ने पनि माग गरेका थिए । छलफलका क्रममा केही दलहरूले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग समेत राखेका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा आयोगले बढीमा २५ लाख खर्च गर्न पाउने गरि सीमा निर्धारण गरेको थियो ।

Leave a Comment