नारायणघाट–बुटवल सडक खण्डका रुख काट्न स्वीकृति दिनेमाथि कारबार्ही गर्न निर्देशन

मुख्य खबर शुक्रबार फाल्गुन २७, २०७८

काठमाडौं । दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।

बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए ।

उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

Leave a Comment