निर्वाचन आयोगले भोलिदेखि स्थानीय तह निर्वाचनबारे दैनिक जानकारी दिने

राजनीति शुक्रबार फाल्गुन २७, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग हिजो आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो ।

यस्तै आयोगले भोलीदेखि स्थानीय तह निर्वाचनसम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने भएको छ । आयोगले मिडिया सेन्टरमा हरेक अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्न लागेको हो ।

आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको छ ।

Leave a Comment