काठमाडौं । झापाको मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान करिब साढे ४ बजेदेखि आगो लागेको हो ।
आगो निभाउन भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट १३ वटा दमकल प्रयोग गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो आवाज
ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन्। २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो।
आगलागीबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । बिहीबार राति मात्र दाङको तुलसीपुरस्थित चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो।