पीएसजीलाई हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश

खेलकूद बिहिबार फाल्गुन २६, २०७८

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै स्पेनको रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ३–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो । गएराति आफ्नै मैदानमा भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा रियल ३–१ ले विजयी भयो ।

रियलका लागि करिम बेन्जमाले ह्याट्रिक गरे भने पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए । खेलको ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

त्यसपछि ७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को जित दिलाए । पहिलो लेगमा १–० ले हारेको रियल बुधबार रातिको जितपछि भने समग्रमा खेल ३–२ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा उक्लिएको हो । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा पोर्चुगलको स्पोर्टीङ लिस्बनलाई पाखा लगाउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा उक्लेको छ ।

म्यान्चेस्टरमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, पहिलो लेगमा हात परेको ५–० को जित म्यान्चेस्टर सिटीलाई प्रतियोगिताको क्वाटरफाइनलमा पु¥याउन पर्याप्त थियो ।

Leave a Comment