काठमाडौं । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
दुर्घटना स्थलबाट हाल सम्म १४ जनाको शव निकालिएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको जानकारी दिनु भएको छ । मृतकहरुको पहिचान भइसकेको छैन ।