आज विश्व मिर्गौला दिवस, नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्बन्धी समस्या
काठमाडौं । विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ । विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ । नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन । नेपालमा हरेक वर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङ्क छ।
नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेका छन्।
यस्तै, ४ हजारभन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्। सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ।
मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचीकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।