युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुस विरुद्धको युद्धमा पछि हटिदैंन

अन्तर्राष्ट्रिय बुधबार फाल्गुन २५, २०७८

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस विरुद्धको युद्धमा पछी नहट्ने बताउनुभएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई भर्चुअल माध्सयमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस विरुद्धको युद्धमा सबै मोर्चाबाट आक्रमण जारी राख्ने बताउनुभएको हो ।

उहाँले जमिन, जंगल, समुद्र र आकाशबाट रुसी सेनाविरुद्धको प्रत्याक्रमण तिव्र पार्ने समेत बताउनुभयो । बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेल आयात पूर्णरुपले बन्द गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपतिले हाउस अफ कमन्समा सम्बोधन गर्नुभएको हो । सोही क्रममा जेलेन्स्कीेले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न पश्चिमा जगतसँग पुनः माग गर्नुभयो । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी तेल, ग्यास र कोइला आयातमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ । यसैबीच अमेरिकी रक्षा अधिकारीहरूले केही रूसी सैनिकले आत्मसमर्पण गरेको दावी गरेका छन् ।

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल÷ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो ।

पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको मस्कोलाई उद्धृत गर्दै समाचार संस्था तासले जनाएको छ । रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले यो कदमबाट विश्वभरिको आपूर्तिमा ‘विनाशकारी परिणाम’ आउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

 

Leave a Comment