दलहरु होमिए स्थानीय तहको निर्वाचनमा

मुख्य खबर बुधबार फाल्गुन २५, २०७८

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ६३ दिन मात्रै छ । सत्तागठबन्धन तथा प्रतिपक्षी दल एमालेसहित अन्य दलहरूले पनि चुनाव केन्द्रीत गतिविधि बढाएका छन् ।

शिर्ष नेताहरू चुनाव केन्द्रीत बैठक तथा सभा सम्मेलनमा सहभागी हुन थालेका छन् भने जिल्ला र स्थानीय तहका नेताहरूले आगामी निर्वाचनमा आ–आफ्नो उम्मेद्वारी सुनिश्चित गराउन लबिङ थालेका छन् । यस्तै महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तथा दाबेदारी प्रस्तुत गर्ने क्रम पनि सुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीलाई बहुमत दिलाउने माहोल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काँग्रेसले आसन्न चुनाव लक्षित गरेर आउँदो २९ गतेदेखि एक महिनासम्म देशभर प्रचार अभियान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै, नेकपा एमालले पनि स्थानीय तह केन्द्रीत बनेर यसअघि नै अभियान सुरू गरिसकेको छ । प्रदेश तहमा चुनाब केन्द्रीत प्रशिक्षण गरेपछि एमालेका नेताहरू चुनावी माहोल बनाउने दौडधुपमा लागेका छन् ।

मतदान गर्न नपाउने
विदेशमा रहेका २२ लाख नेपाली नागरिकले यो पटक पनि मतदान गर्न नपाउने भएका छन् । विदेशमा रहेका आफ्ना नागरिकलाई मतदान गर्नेे अधिकार दिएपनि नेपालमा राजनीतिक दलले चासो नदिँदा कानुनी अड्चन कायमै रहेको पूर्व निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार विदेशमा रहेकालाई भोट हाल्ने अधिकारबाट बन्चित गरिँदा उनीहरूको निर्वाचनप्रतिको आस्था नै घट्ने जोखिम बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म भोट हाल्ने उमेर पुगेका झण्डै २२ लाख नेपाली विभिन्न देशमा गएपनि कति जना फर्किए भन्ने तथ्याङ्क छैन । संविधानले १८ वर्ष उमेर पुगेका हरेक नेपालीको मताधिकार सुनिश्चित गरेको छ । तर विदेशमा रहेका वा चुनावको बेला गाउँ फर्किन नपाउनेहरू मताधिकारबाट बञ्चित भईरहेको बिज्ञहरुले जताएका छन् ।

Leave a Comment