रुसी सेनाद्वारा युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी

अन्तर्राष्ट्रिय मङ्लबार फाल्गुन २४, २०७८

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनका विभिन्न शहरमा आक्रमण जारी राखेकै बेला राजधानी किभमा पनि आक्रमण गर्ने चेतावनी दिएको हो । सोमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आक्रमण गरेका छन ।

जसका कारण कयौंको हताहती भएको बताईएको छ । रुसी सेनाले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको र महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको जनाइएको छ । निरन्तर जारी रहेको आक्रमणका कारण हालसम्म युक्रेनको सीमाबाट १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । कैयौं आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन। रुसी समाचार संस्था इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ ।
४ ओटा शर्त
रुसले युद्ध अन्त्यका लागि युक्रेनसमक्ष ४ ओटा शर्त राखेको छ । युद्धको १२ औँ दिनमा हिजो भएको दुई देशबीचको वार्ताको क्रममा जारी रुसले ४ ओटा शर्त माने युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएको छ । बेलारुसमा भएको वार्ताको क्रममा रुसले युक्रेनलाई सैन्य कारबाही बन्द गर्नुपर्ने, संविधान संशोधन गरेर कुनैपनि सैन्य सङ्गठनमा सहभागि हुन नपाउने, क्रिमियालाई रुसको भाग रहेको भनेर मान्यता दिनुपर्ने र पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिनुपर्ने शर्त राखेको छ । रुसको यस शर्तमा युक्रेनले हालसम्म कुनैपनि प्रतिक्रिया जनाएको छैन । युद्धको प्रमुख कारणको रुपमा युक्रेन नेटो सेनामा सहभागि हुन लागेको र क्रिमियालाई रुसको भागको रुपमा मान्यता नदिनुलाई लिइएको छ ।

रुस–युक्रेन युद्धको १२ औँ दिनसम्म १७ लाख नागरिकले युक्रेन छाडिसकेका छन् । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीका अनुसार जारी युद्धमा ४ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । जसमा ४० जना बालबालिका रहेका छन् । युद्धमा हालसम्म ८ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।

Leave a Comment