काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँच जनाले आत्महत्याको प्रयास गरेका छन्। घरमै विष सेवन गरी आत्महत्या प्रयास गरेका पाँचमध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हिजोराति अन्दाजी साढे ९ बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका–६ डाडापौवास्थित एउटा २ तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बस्ने काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी घर भएका सुवर्णमान प्रधान र उनका परिवारका सदस्यहरू अचेत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयो । उनीहरूले विषादी सेवन गरी बेहोस रहेको भन्ने खबर आउने बित्तिकै प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थलमा पुगी सबै उनीहरूलाई तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो।
घटनामा बेहोस भएका ३३ वर्षीय सुर्वणमान प्रधानको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरु ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षका भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनीहरु चारै जना बहोस अवस्थामा रहेका छन्।
घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरी प्रारम्भिक अनुमान छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।