आज मार्च ८ तारिख, १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरेका थिए, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभउको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सदँदे उहाँले परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनु भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्नुहुने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरण गर्देै महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो ।
नारी दिवसको अवसरमा विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा पारेका असर र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा आज विशेष कार्यक्रम गरिँदै छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० भन्दा बढी महिला पदयात्रा गर्दै त्यहाँ पुगेर जलवायु परिवर्तन र महिला न्यायका विषयमा कार्यक्रममार्फत राज्यका सम्बन्धित निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराइने बताइएको छ ।