काठमाण्डौ । सुदूरपश्चिम प्रदेशसभा सचिवालय स्थापना भएको चार वर्षसम्म पनि दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति नभएपछि कार्य सम्पादनमा समस्या भएको छ ।
निजामती सेवातर्फ कार्यालय सहयोगीदेखि उपसचिवसम्मका विभिन्न पदका ३६ जनाको स्वीकृत दरबन्दी रहेको प्रदेशसभा सचिवालयमा १० जना कर्मचारी मात्र कार्यरत छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले निजामती सेवातर्फ स्वीकृत दरबन्दी अनुसारका कर्मचारी नहुुँदा कार्य सम्पादनमा समस्या भएको बताए । उनका अनुसार हाल प्रदेशसभा सचिवालयमा तीन जना कार्यालय सहयोगी सहित १० जना कर्मचारी मात्र कार्यरत छन् । अन्य २६ जनाको पदपूर्ति हुन सकेको छैन ।
प्रदेशसभा सचिवालयमा मात्रै होइन, सुदूरपश्चिम प्रदेशका मन्त्रालय र मातहतका अन्य कार्यालयमा समेत दरबन्दी अनुसारका कर्मचारी छैनन् ।