काठमाण्डौ. । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६९ जिल्लामा अधिवेशन गरेर नयाँ नेतृत्व ल्याएको छ ।
बाँकी ८ जिल्लामा पनि अधिवेशनका तयारी भइरहेका छन्। आज अछाममा दोस्रो चरणमा मतदान गर्ने तयारी छ। पहिलो चरणमा सभापतिका लागि तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज मतदान हुन लागेको हो । सभापतिका लागि पुष्प शाह र भरतकुमार स्वाँरबीच आज मतदान हुने भएको छ । सहमति गरेर सभापति चयन गर्ने प्रयास सफल नभएपछि मतदान हुन लागेको हो। सभापतिका अर्का उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाटै बाहिरिनुभएको छ ।
कांग्रेस बारामा गत शनिबार जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो। तर धाँधली भएपछि रद्द गरिएको थियो। अब फागुन २५ मा फेरि अधिवेशन गर्ने तयारी छ। यस्तै मधेशका चार जिल्लामा कांग्रेसले अधिवेशन गर्दैछ। रौतहट, धनुषा, सर्लाही र सिराहामा आज अधिवेशन हुने भएको छ। रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्।
धनुषामा भने सभापतिका तीन जना उम्मेदवार हुने देखिएको छ। विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापति उठ्ने तयारीमा छन्।संस्थापन पक्षले सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने भएका छन्।सर्लाहीमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतरबाट लक्ष्मण राय यादव सभापति पदका लागि चुनावी मैदानमा छन्।यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरी सभापति पदमा भिड्दैछन्। बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने फागुन २७ र २८ मा हुने भएको छ।
यसअघि पटकपटक अधिवेशन मिति सरेको थियो। कांग्रेसले १६ जिल्ला अधिवेशन बाँकी राखेर गत मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। १६ मध्ये ८ जिल्ला अधिवेशन भने सकिइसकेको छ।