काठमाण्डौ. । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ देखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडकमार्गबाट जोड्ने एक मात्र सडक हो ।
यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक चार घण्टा उक्त सडक बन्द गरिएको थियो ।