एजेन्सी । युक्रेन–रुस युद्ध सुरु भएको आज आज दसौं दिन पुगेको छ । गत साताको बिहीवार रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । हिजो युद्धको नवौं दिनसम्म रुसले युक्रेनका सहरहरूलाई आक्रमण गर्दै कुरुप बनाइसकेको छ भने आक्रमणलाई पनि तीव्र बनाउँदै लगेको छ ।
बीबीसीका अनुसार युद्धको नवौं दिनसम्म युक्रेनको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा आक्रमण जारी रह्यो । यस अवधिमा रुसले युक्रेनको एउटा परमाणु केन्द्र नियन्त्रणमा लियो भने चेर्नोबेली परमाणु केन्द्रमा आगलागी भयो । रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका छन् भने चेर्नोबेलीमा लागेको आगो नियन्त्रणमा लिइएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै, पश्चिमा देशहरूको सैन्य सङ्गठन नेटोले रुसी विमानमाथि रोक नलगाउने निर्णय गरेको छ । नेटोको निर्णयप्रति युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले असन्तुष्टि जनाउनुभएको छ । यसैबीच, युक्रेन र रुसबीच युद्ध अन्त्यका लागि तेस्रो चरणको वार्ता यसै साता हुने भएको छ । दुबै देशका पदाधिकारीहरूले जारी युद्ध अन्त्यका लागि भोलि वा दुई दिनपछि तेस्रो चरणको वार्ता हुन सक्ने बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका सलाहकार मिखाइलो पोदोलियाकले युद्ध अन्त्यको विषयमा तेस्रो चरणको वार्ताका लागि रुसी पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहेको र भोलि वा दुई दिनपछि वार्ता हुन सक्ने बताउनुभयो । तेस्रो चरणको वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्ना रुसी समकक्षी भ्लादिमीर पुटिनसँग वार्ता गर्न प्रस्ताव गर्नुभएको पनि मिखाइलोले बताउनुभयो ।