पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई बिदाइ गरियाे

उद्यम शनिबार फाल्गुन २१, २०७८

काठमाण्डौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेको हो । संस्थानले अस्ती र हिजो साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिनुभयो । गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको हो । संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ ।

नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताउनुभयो । यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ ।

Leave a Comment