प्रयुश महर्जन
काठमाडौं। नेपाली फुटबल जगतमा उदायमान खेलाडीका रुपमा सुपरिचित नाम र पहिचान बनाउँदैछन् सनिस श्रेष्ठ । धापाखेलको चिवहाल युथ क्लबबाट आफ्नो फुटबल करियर सुरु गरेका श्रेष्ठ विभागिय फुटबल क्लव एपीएफमा आवद्ध छन् ।
कडा मेहनत र परिश्रमका कारण लाखौं दर्शकको मन जित्न सफल श्रेष्ठलाई हुनगइरहेको एनएसएल (नेप्लीस सुपर लिग) को दोस्रो सेसनका लागि ललितपुर एप्सीले मोटो रकममा अनुबन्ध गरेको छ । तनहुँमा जन्मे हुर्केका र फुटबल प्रति निकै चाख भएका श्रेष्ठ सामान्य परिवारमा हुर्केका हुन् । सानो उमेरदेखि नै फुटबलमा रुची राख्ने उनी बाल्यकालमा घर आगन,सानो मैदान र बाटोमा खेल्दै हुर्केका थिए । सोही क्षणदेखि नेपालको फुटबलको क्षेत्रमा निकै चर्चा कमाउन सफल नेप्लीस सुपर लिग सम्मको यात्रामा पुग्न निकै नै संघर्ष र कठिनाईहरु भोग्नु परेको थियो । कडा मेहनत र लगनशिलताका कारण उनी आज एक सफल खेलाडीको रुपमा आफ्नो नाम दर्ज गर्न सफल भएका छन् ।
१८ वर्षमूनीको ए डिभिजन लिगमा ब्रिग्रेड ब्वाइज क्लबमा आवद्ध भएर प्रोफेसनल करियर सुरु गरेका उनले शहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्डस क्लबाट डेब्यू गरेका थिए । खेलको निरन्तर साधनाका कारण उनी अहिले सबैको नजरमा पर्न सफल खेलाडी मात्र नभई उज्जवल भविष्य समेत बोकेको एक नक्षत्रको रुपमा देखिएका छन् । उनले एपीएफ क्लबमा आवद्ध हुँदै आहा रारा गोल्ड कप र विराट गोल्ड कप जस्ता उत्कृष्ट प्रतियोगितामा सफलता हात पारिसकेका छन् ।
हाल सालै भएको ए डिभिजन लिगमा उनले एपीएफ क्लबबाट निकै नै उत्कृष्ट प्रर्दशन गरेका थिए । सोही प्रदर्शनका कारण श्रेष्ठलाई ललितपुर सिटी एप्सीले तीन लाख ५० हजारमा आफ्नो क्लबमा अनुबन्धित गरेको छ । आसा छ श्रेष्ठले उक्त क्लबाट पनि उत्कृष्ठ प्रदर्शन गर्दै लाखौं दर्शकहरुको मनमा बस्न सफल हुने छन् ।