काठमाण्डौं । युक्रेनको सुरक्षा स्थितिलाई ध्यानमा राखि त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहजीकरण गर्ने कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका मन्त्रालयले जनाएको छ। हालसम्म ५११ जना नेपालीहरु सो मुलुकबाट सीमावर्ती मुलुकहरूमा पुगेका छन्। ती मध्ये पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरिसकेका छन् । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास, बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ ।
युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदैछन् भने केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।