काठमाण्डौं । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको शपथ आज हुने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार सदस्यहरुको सपथ आज बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४÷४ र कांग्रेसका ३ सदस्यको पदावधि हिजोबाट सकिएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए । सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ ।