काठमाडौँ । पेट्रोलियम पदार्थका व्यवसायीहरुले इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्।
‘बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्पहरुले तेल उठाएका छैनन । अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन,’ थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालका अनुसार, ‘निजी पम्पहरुको ट्याङकर आएपनि इन्धन लोड गरेका छैनन् । व्यवसायीहरुले देशभर तेल उठाएका छैनन् ।’
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी नभएको पुष्टि गरे । ‘बिक्रेता कमिसनको क्यालकुलेसन मिलेको छैन, उहाँहरुले मिलाउदै हुनुहुन्छ । त्यही भएर इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी भएको छैन,’ उनले भने ।
निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ । जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो ।
‘