आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाउँदै

मुख्य खबर बिहिबार फाल्गुन १९, २०७८

काठमाण्डौं । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ  । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ  । यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताउनु भएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा सुभकाना दिदै अनेकताबीचको एकताले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अल्पसंख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं संवर्द्धनका लागि सदैव क्रियाशील रहेको बताउनु भएको छ । ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै देउवाले नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताउनुभयो ।

Leave a Comment