नेकपा माओवादी केन्द्रभित्र पक्ष विपक्षको भाँडभैलो

मुख्य खबर बुधबार फाल्गुन १८, २०७८

काठमाण्डौ । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ ।

एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ । एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु पार्टीबाट बाहिरने खतरा बढेको छ ।

उनीहरुलाई पार्टीभित्रै थाम्ने चुनौती आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व एकता केन्द्र समूहका नेता नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयास थाल्नुभएको छ । प्रचण्ड मंगलबार श्रेष्ठको निवासमै पुगेर मतभेदलाई पार्टीमै बसेर छलफल गर्न तर पार्टी नछाड्न आग्रह गर्नुभयो । श्रेष्ठले भने एमसीसीको विपक्षमा रहेकाहरुलाई पार्टी छाडेर जान स्वतन्त्र रहेको भन्ने प्रचण्डको भनाइले आशंका उब्जाएको जवाफ दिनुभएको थियो । प्रचण्डले आज पनि श्रेष्ठसँग छलफल गर्दै हुनुहुन्छ ।

एमसीसी अनुमोदनपछि माओवादीको तल्लो तहमा पनि असन्तुष्टि चुलिएको छ ।

Leave a Comment