काठमाडौं । खेती गर्ने बेला सधैं मलको हाहाकार खेप्दै आएका बेला सरकारले भारतबाट रासायनिक मल ल्याउने सम्झौता गरेको छ । हिजो नेपाल सरकार र भारतबीच सरकारस्तरीय (जीटुजी) प्रक्रियाबाट आगामी पाँच वर्षका लागि रासायनिक मल ल्याउने सम्झौता भएको हो ।
हिजो कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारत सरकारको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले भर्चुअल रुपमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार भारत सरकारले पाँच वर्षको लागि नेपाललाई युरिया र डिएपी मल उपलब्ध गराउनेछ ।
ग्लोबल टेन्डरबाट मल खरिद गर्दा पाँच छ महिना लाग्ने भएकाले जीटुजी प्रक्रियाबाट मल ल्याउने सम्झौता गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।