काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।
सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।
यता (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो । अध्यक्ष दाहालले हिजो खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गर्नुभएको छ । एमसीसी संसद्बाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।
एमसीसी लगायतका वर्तमान परिस्थितिबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हाउसमा पत्रकार सम्मेलन गरेर एमालेले एमसीसी लगायत मुलुकको विकसित परिस्थितिबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।