काठमाण्डौ । आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी देशभर मनाइदैछ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी एवम् भक्तजनको भिड लागेको छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । पशुपतिमा दर्शन गर्न स्वदेस र भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । पशुपति क्षेत्र विकास कोषले आज ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने अनुमान गरेको र त्यही अनुसार भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभयो ।
आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । त्यसका लागि पाँच वटा लाइनको व्यवस्था मिलाइएको छ । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीमा रहेको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताउनुभयो ।